दैलेख : दैलेखमा बुधबार बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका खाद्य सामान, भेटेनरी औषधी फेला परेका छन् । मन्त्रालय स्तरीय निर्णय अनुसार बुधबार दैलेखको नारायण नगरपालिका दैलेख बजारमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेख, उद्योग हित तथा संरक्षण कार्यालय, स्वास्थ्य सेवा कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, नारायण नगरपालिका, दैलेख उद्योग वाणिज्यसँग र जिल्ला प्रहरी कार्यालय दैलेखले संयुक्त रूपमा बजार अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरिएको छ, भने मूल्य सूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भूपेन्द्र थापाले बताए ।
उनले बुधबार खाद्यान्न र होटेल गरी २६, औषधी पसल ५, एग्रोभेट ३ गरी नारायण नगरपालिका दैलेख बजार भित्र पर्ने ३४ वटा विभिन्न पसलहरूमा अनुगमन गरिएको बताए । थापाले मन्त्रालय स्तरको निर्णय अनुसार बजार अनुगमन गरिएको बताए ।
‘अनुगमनका क्रममा केही पसलहरुमा मिति सकिएका खाद्य सामान भेटिएपछि बरामद गरिएको छ, ३ वटा एग्रोभेटमा गरिएको अनुगमनमा २ वटाबाट करिब दुई बोरा म्याद सकिएका ईजाजत विना चलाएका अन्य ५ वारो भन्दा वढि विभिन्न बिऊ विजन र किटनस औषधी बरामद गरेका छौँ’, अधिकृत थापाले भने ।
स्थानीय प्रशासनले म्याद गुज्रेका, सडे गलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको छ । दैलेखमा रहेका ११ वटा स्थानीय तहका बजारमा छड्के अनुगमनलाई समेत तीव्र पारिएको प्रशासनले जनाएको छ ।










